TagaroNews
सिंगापुरमाथि यूएईको २०१ रनको फराकिलो जित

काठमाडौं- नेपालमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा सिंगापुरविरुद्ध यूएईले फराकिलो जित निकालेको छ । यूएईले सिंगापुरलाई २०१ रनले पराजित गरेको हो ।

४७२ रनको विजयी चुनौती पछ्याउँदै ब्याटिङ गरेको सिंगापुरले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २७० रन बनाएपछि यूएईले फराकिलो जित निकालेको हो । सिंगापुरका लागि मनप्रित सिंहले ६६, थिलिपन ओमाइदुराईले ५२, सुरेन्द्रन चन्द्रमोहनले ३८ रन बनाए । बलिङतर्फ यूएईका आयन अफ्जल खान, कार्थिक मैयाप्पन र सन्चित शर्माले समान २–२ विकेट लिए ।

यसअघि टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा ४७१ रन बनायो । यो यूएईले बनाएको सर्वाधिक उच्च रन हो । त्यसो त टीयू क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय खेलमा बनेको यो सबैभन्दा उच्च रन पनि हो ।

यूएईका लागि वृत्या अरभिन्दले १३३ बलमा १७ चौका र सात छक्का प्रहार गर्दै १७४ रन बनाए । त्यस्तै, कप्तान मोहम्मद वासिमले ८२ बलमा १६ छक्का र ९ चौका प्रहार गर्दै १६० रन बनाए । यी दुवै खेलाडीको विष्फोटक ब्याटिङमा यूएईले कीर्तिमानी रन बनाएको हो ।

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update