TagaroNews
प्रचण्ड र माधव नेपाल मिलेर समाजवादी मोर्चा बनाउने  

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले छिट्टै समाजवादी मोर्चा गठन हुने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा नेकपा एकीकृत समाजवादीले राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गदै अध्यक्षद्धय प्रचण्ड र नेपालले यस्तो बताएका हुन् ।

छिट्टै, केही दिनभित्रै समाजवादी मोर्चा गठन गरि कम्युनिस्ट आन्दोलनको नयाँ ध्रुविकरणतिर जाने र मोर्चाले नेकपातिर फर्किनका लागि सबै सबैलाइ अपिल गर्ने प्रचण्डको भनाई छ ।

२०७४ सालको चुनावअघि एकताको घोषणा गर्दै वाम तालमेल गरेका एमाले र माओवादी केन्द्रले झण्डै दुई तिहाइ बहुमत पाएको थियो । २०७५ साल जेठमा तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्दबीच एकता भइ नेपाल कम्युनिस्ट पार्टी नेकपा बनेको थियो । तर, पछि नाम सम्बन्धी विवादमा सर्वोच्च अदालतले नेकपाको एकता भंग गरिदिएपछि दुइ पार्टी अलग भएका थिए । त्यसपछि एमाले पनि फुटेर नेकपा एकीकृत समाजवादी बनेको हो ।

नेपालमा कम्युनिस्ट आन्दोलनको विस्तार ब्यापक रुपमा भएको तर, कम्युनिस्ट पार्टीहरु अलग अलग हुँदा जनताले र राष्ट्रले जस्तो अपेक्षा गरेको हो त्यस अनुसार परिणाम दिन नसकेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने समय आएको औल्याए ।

एमाले र माओवादी मिलेर बनेको विगतको नेकपालाई आम कार्यकर्ता र बहुसंख्यक जनताले अनुमोदन गरेपनि उक्त एकतालाई जोगाउन नसकिएको उल्लेख गर्दै उनले फेरि पनि कम्युनिस्ट एकताको आवश्यकतामा जोड दिएका हुन् । व्यक्तिवादका कारण तत्कालिन नेकपाको एकता टिक्न नसकेको उनको बुझाइ छ ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पनि विचार मिल्ने कम्युनिष्ट पार्टीहरुबीच छिटै समाजवादी मोर्चा बनाएर अघि बढने बताए । अझै त्यो भन्दा अगाडि बढेर विचार, नीति, सिद्धान्त, राजनीतिक कार्यदिशा,संगठनात्मक सोचहरु मिल्यो भने पार्टी एकता नै गरेर अगाडि बढिने उनको भनाइ छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update