TagaroNews
बन्दीपुरमा केबलकारभित्रै रेष्टुरेन्ट सञ्चालनको तयारी

तनहुँ- तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन “केबलकारभित्र रेष्टुरेन्ट सञ्चालनको तयारीसमेत गरिएको छ । तल्लो र माथिल्लो स्टेशनमा रेष्टुरेन्ट हुने भएकाले रेष्ट्रो प्याकेजमा सेवा दिन सक्नेछ ।  रेष्ट्रोको सुविधा प्रत्येक दिनको अफ आवर साँझ ५ देखि ९ बजेसम्म यो सेवा दिने तयारीमा बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले  जानकारी दिए ।

बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले  निर्माण  गरिरहेको केबलकारका ‘डिब्बा’ जडानको तयारी थालिएको छ। डिब्बा जडानका लागि सम्पूर्ण टावर तयार भइसकेको छ। केबलकारका २१ डिब्बा आइपुगेको छ। “अब डबल सिफ्टमा कामलाई तीव्रता दिन्छौँ, दुईवटा सामान बोक्ने र छवटा रेष्ट्रो क्याविन आउन बाँकी छ”, अध्यक्ष रामचन्द्र शर्माले भने । 

केबलकारको परीक्षण आगामी वैशाख २५ गतेदेखि सुरु गर्ने तयारी छ। विसं २०७५ साउनदेखि केबलकार निर्माणको कामलाई अगाडि बढाइएको थियो। विसं २०८० मङ्सिरभित्र पाँचतारे होटल, माघभित्र सम्मेलन केन्द्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ। जेठभित्र भ्यूजरुम,असारभित्र वाक्स म्युजियम, साउनभित्र जीपलाइन, भदौभित्र बन्जी, स्काइवाक, असोजभित्र रेष्ट्रो क्याबिन सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

केबलकार र होटलको क्षमता बढेकाले लगानी पनि वृद्धि भएर रु. दुई अर्ब ६० करोड पुगेको छ। यस अगाडि केबलकारको क्षमता प्रतिघन्टा तीन सय रहेकामा त्यसलाई बढाएर पाँच सय पु¥याइएको छ। होटलको कोठा सङ्ख्या ६६ रहेकामा त्यसलाई बढाएर ८७ पु¥याइएको छ। दश तल्लाको होटलसहितको भवनमा आधुनिक भ्यूटावर, बेनक्युट हल र ८० कोठाका स्तरीय होटल निर्माण हुनेछ। होटलको पूर्वाधारको काम सकिएको र फिनिसिङको काम बाँकी रहेको छ ।

बन्दीपुर–४ ठुल्ढुङ्गाबाट सुरु हुने केबलकार सोही वडाको बरालथोकसम्म पुग्छ। केबलकारबाट एसियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा पनि अवलोकन गर्न सकिनेछ। ठूल्ढुङ्गास्वाँराबाट सुरू हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ। केवलकारले एक किलोमिटर छ सय मिटर यात्रा गर्नेछ । 

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update