TagaroNews
एमालेका भुसाल र साहसहितलाई कारबाही 

काठमाडौं । नेकपा (एमाले)ले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीविरोधी गतिविधिमा संलग्न घनश्याम भुसाल, प्रभु साहसहितका नेताहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार बसेको सचिवालय बैठकले निर्वाचनमा पार्टीविरोधी गतिविधिमा लागेका नेताद्वय भुसाल र साहलाई पार्टी स्थायी कमिटी सदस्य नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो । 

बैठकले सोही अभियोगमा केन्द्रीय कमिटीका सदस्यहरु उपेन्द्र साह, कुन्दन कुशवाह, रामप्रित राम, बद्री न्यौपाने, रिता साह, गंगा चौधरी र टेकबहादुर बलाम्पाटीलाई पनि केन्द्रीय सदस्य नरहने गरी कारबाही गरिएको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

एमालेले चुनावमा पार्टी विरोधी गतिविधिमा संलग्न भएको भन्दै पार्टीको केन्द्रीय निकायमा रहेका वाङ्दे शेर्पा, खेम सुवेदी, भक्तबहादुर अधिकारी, लक्ष्मी साहलाई पनि पार्टीको जिम्मेवारीबाट हटाएको छ । चुनावमा पार्टी विरोधी गतिविधिमा लागेको आरोपमा जैतुन खातुनलाई प्रतिनिधिसभाको समानुपातिकतर्फको सूचीबाट हटाउने काम पनि गरिएको प्रचार विभाग प्रमुख गुरुङले बताए । 

 

प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update