TagaroNews
३ महिना १३ दिनमै ढल्यो खगराज नेतृत्वको सरकार

पोखरा- नेकपा एमाले तर्फबाट मुख्यमन्त्री बनेका खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकार ३ महिना १३ दिन मै ढलेको छ । एमालेको नेतृत्वमा माओवादी केन्द्र र राप्रपासहित ३३ जना सांसदको समर्थनमा गत पुस २५ मा बनेको सरकारबाट चैत १० गते माओवादी पार्टीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको थियो ।

अल्पमतमा परेपछि शनिबार प्रदेशसभामा लिइएको विश्वासको मत प्रस्ताव पक्षमा जम्मा २४ मत सहित बहुमतले अस्वीकृत भएको हो । प्रस्तावको पक्षमा एमाले र राप्रपाले मत दिए भने विपक्षमा कांग्रेस, माओवादी र एक स्वतन्त्र गरि ३५ सांसदले मत दिए ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा कांग्रेसका २७, नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका सभामुख बाहेक ७, राप्रपाका २ र स्वतन्त्र १ सांसद छन् । जसमा सरकारले विश्वासको मत पाउन ३१ सांसदको समर्थन आवश्यक पर्छ।

अब गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकारका लागि आह्वन गरेपछि एक स्वतन्त्र सहित माओवादीको समर्थनमा कांग्रेसका सुरेन्द्र बहादुर पाण्डेको नेतृत्वमा सरकार गठन हुनेछ ।

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  १९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update