TagaroNews
आहा... परम्परागत ‘घुमाउने घर’
सुन्दरबजार नगरपालिका–११ तुर्लुङकोटमा रहेको परम्परागत घुमाउने घर । तस्बिर : निरज अधिकारी

लमजुङ - ऐतिहासिकता झल्काउने परम्परागत अनि फरक ढङ्गले निर्माण गरिएका घुमाउने घरहरू अहिले बिरलै देखिन्छन् । आधुनिक घरहरूको निर्माण तीव्र बनाइएपछि ग्रामीण भेगहरूमा यस्को अस्तित्व लोप हुँदै गएको हो । तर, लमजुङका अधिकांश पर्यटकीय गाउँहरुमा शताब्दी पुराना घुमाउने घरहरु देख्न सकिन्छ ।

यस्को आफनै मौलिकता रहेकाले पनि मर्मत र संरक्षण गरेर राखेको मर्स्याङदी गाउँपालिका–३ सिउँरुङ गाउँकी ७१ बर्षिय बृद्धा रामकाशी घलेले बताइन् । उनले भनिन् ‘आफु बिबाह गरेर आउने बेलामै थियो घुमाउने घर, त्यत्तिबेलै धेरै पुरानो भन्थे् अहिले त आफै बुढि भैसकेँ । छोराहरुले भत्काउने भन्दै थिए, मैले नै मानिन् ।’ उनले थपिन । सिउँरुङ गाउँमा पनि केहि घुमाउने घर संरक्षणमा रहेपनि धेरै मासिसकेका छन् । 

golo ghar 11682163085.jpg

लमजुङका पर्यटकीय गाउँमा शताब्दी पुराना खरले छाएका, माटोले पोतेका घरहरु छन् । कतै ढुङ्गाले छाएका घुमाउने घर निकै आकर्षित छन् । खरले छाएका घुमाउने घरहरू विरलै मात्रामा भेटिन्छन् भने, ढुङ्गाले छाएका घुमाउने घरहरू अल्लि बढी देखिन्छन् । 

गुरुङ गाउँहरुमा बढी मात्रामा हुने घुमाउने घर ऐतिहाशिक र महत्वपूर्ण मानिने भएकाले पर्यटकलाई देखाउनका लागी पनि स्थानीयहरु यसको संरक्षण गरेका हुन् । गुरुङ मात्र होइन लमजुङको सुन्दरबजार नगरपालिका–११ तुर्लुङकोटमा रहेको दुरा बस्तिमा समेत घुमाउने घरहरु रहेका छन् । स्थानीय खेमराज दुराले भने, ‘बाउबाजेको पालमा धेरै घुमाउने घर थिए, आफनो पुर्खाको इतिहास भनेर आफैले घरमा घुमाउने घरको नव निर्माण गरी संरक्षण गरेको छु ।’ तुर्लुङकोटमा खेमराजका नवनिर्मित घुमाउने घर छ भने, अन्य एक घरमा माटोले लिपेको पुरानै शैलिको घुमाउने घर देख्न पाइन्छ ।  

golo ghar 21682163180.jpg

लमजुङको मुख्य पर्यटकीय क्षेत्र घलेगाउँ, सिउँरुङ, राईनासकोट, तुर्लुङकोट, भुजुङ लगाएतका पर्यटकीय गाउँमा भने, घुमाउने घर देख्न सकिन्छ । यस्ले आफनो पुर्खाको इतिहास झल्काउने र नयाँ पुस्तालाई पनि यो सिकाई केन्द्र बन्ने भन्दै यस्को संरक्षण गरिएको हो । यो मात्र नभई घुमाउने घरहरू बस्नका लागि न्यानो र स्वास्थ्यको दृष्टिकोणले पनि लाभदायक हुने अधिकांशको बुझाई छ । एक दशकअघि लमजुङका ग्रामीण क्षेत्रहरूमा सयौँको सङ्ख्यामा घुमाउने घर थिए । तर, अहिले औँलामा गन्न सकिने भएका छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update