TagaroNews
उपनिर्वाचनका दिन पृथ्वी राजमार्ग बन्द 

तनहुँ- क्षेत्र नं. १ मा आइतबार हुने उपनिर्वाचनका दिन पृथ्वी राजमार्गसमेत बन्द रहने भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले सूचना जारी गर्दै मतदानका दिन बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने पृथ्वी राजमार्ग खण्ड र भित्री सडकखण्डमा सवारी साधन पुर्णरुपमा बन्द रहने जनाएको छ ।

पृथ्वी राजमार्गको मुग्लिङ पुलदेखि व्यास नगरपालिकाको चापाघाट (मादी नदीको पुलको पश्चिम भाग) सम्म, डुम्रे–बेसीशहर सडकखण्ड, आँबुखैरेनी गोरखा सडकखण्ड, दमौली दुईपिप्ले सडक खण्डलगायत सम्पूर्ण स्थानीय सडक बन्द रहने प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए ।

सो अवधिमा दमकल, एम्बुलेन्स, खानेपानीका ट्यावर, दुध बोक्ने सवारी साधन, शववाहन, फोहरमैला ओसार्ने सवारी साधन, अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालको परिचय पत्रसहित चलेको सवारी साधन र सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास भएको पत्रकार चढेको सवारी साधन बाहेक सबै प्रकारका सवारी साधनहरु पूर्ण रूपमा बन्द रहने छ ।

342743145_608727837807671_8256280140005998540_n1682157628.jpg

यस्तै, तनहुँ जिल्ला भएर चल्ने रात्रि बस वैशाख १० गते बिहान ४ बजे अगावै जिल्लापार गरिसक्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
 

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update