TagaroNews
कतार प्रहरीमा जागिर लगाइदिने भन्दै ६३ लाख ठगी गर्ने पक्राउ

काठमाडौं- वैदेशिक रोजगारअन्तर्गत कतारको प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाएर एक व्यक्तिले १८ जनाको ६३ लाख रुपैयाँ ठगी गरेका छन्। उनीहरुबाट ६३ लाख ठगेर फरार भएका सप्तरीको कञ्चनपुर घर भइ हाल काठमाडौँको टोखा बस्ने पूर्णकुमार दाहाललाई पक्राउ गरी कारबाही थालिएको काठमाडौँउपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

उनका अनुसार दाहालले कतारको प्रहरीमा रोजगारी पाइने र त्यसका लागि सात लाख लाग्ने भन्दै रकम ठगेको पाइएको छ। दाहालले यसरी रकम ठगी गर्दा त्यहाँको प्रहरीमा जागिर भएपछि मासिक एक लाख रुपैयाँ कमाइ हुने लोभ देखाएका थिए।

पीडितहरुको उजुरीपछि वैदेशिक रोजगार विभागबाट पक्राउ गरीदिन माग भएअनुसार खोजीका लागि खटिएको प्रहरीले उनलाई गएराति झापाबाट पक्राउ गरी आवश्यक अनुसन्धानका लागि आजै वैदेशिक रोजगार विभाग काठमाडौँमा पठाइएको राठौरले जानकारी दिए।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  २१:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update