TagaroNews
रैथाने बाली कोदो घरेलु मदिरा मात्र बनाउन ठिक्क
उत्पादित कोदो टिप्दै मर्स्याङदी गाउँपालिका–४ छापाका किसान दम्पती तस्बिर : तगारोन्युज

लमजुङ - लमजुङका प्राय गाउँमा पहिले प्रशस्त कोदोखेती हुन्थ्यो । हिजोआज कोदो खेतीप्रति किसानको मोह घट्दै गएको छ । किसानले लगाएको कोदो प्रशस्तै मात्रामा फल्ने गरेको थियो । उत्पादन धेरै भए पनि बिक्री हुन छाडेपछि किसान कोदो खेतीप्रति निरुत्साहित हुँदै गएका हुन् ।

कोदोका परिकारको विविधिकरण र बजारीकरणमा देखिएको समस्याले किसान कोदो खेतीप्रति आकर्षित हुन छाडेका छन् । उत्पादित कोदो घरेलु मदिरा बनाउन मात्र प्रयोग हुने गरेको मर्स्याङदी गाउँपालिका–४ छापाका किसान चित्रमान गुरुङले बताए । उनले भने, ‘कोदो खेतीमा लगानी गर्दा फाइदा नै हुन छाड्यो, गाउँमा खेति किसान गर्ने मान्छे नै छैनन् ।’ उनले थपे, ‘उत्पादित कोदो घरमै रक्सी पर्न मात्र ठिक्क हुन्छ ।’ 

ग्रामीण क्षेत्रको जमिन कोदो खेतीका लागि निकै उपयुक्त मानिन्छ । तर, किसानले कोदो खेतीलाई भने उपयुक्त मान्न छाडेका छन् ।  परम्परागत खेती प्रणाली, उन्नत बिउको अभाव तथा खेती प्रविधिको विस्तार नहुँदा परम्परागत बालीको उत्पादनमा खासै उपलब्धी देख्दैनन् किसानहरु ।

कोदो नेपालको रैथाने बाली मानिन्छ । देशका अधिकांस स्थानमा खेती गरिने कोदोको उत्पादन प्रदेशगत रुपमा सबैभन्दा धेरै गण्डकीमा हुन्छ । गाउँघरमा कोदो फलाउने अनि यसको महत्वलाई बुझेर सरकारले ठोस योजना बनाउन नसक्दा घरायसी मदिराको प्रयोगमा मात्र कोदो सीमित भएको सुन्दरबजार नगरपालिका–११ तुर्लुङकोटकी कृषक आशमाया दुराले बताइन् । 

कोदोलाई नेपालमा धान, गहुँ तथा मकैपछिको मुख्य बालीका रुपमा लिइन्छ । पोषणयुक्त बालीका रुपमा चिनिने भएपनि यसको उत्पादन वृद्धिका लागि सरकारी तथा गैरसरकारी पहलको अभाव छ । देशको रैथाने बाली भएपनि कोदोको उत्पादन बढ्न नसक्दा यसको आयात प्रत्येक बर्ष बढ्दै गएको छ । कुनै समयको महत्वपूर्ण खाद्यान्न बाली कोदो अहिले शहरी क्षेत्रमा मात्रै होइन, ग्रामीण भेगका नागरिकका लागी समेत दुर्लभ बन्दै जाने खतरा बढेको छ ।

कोदोको खेती गर्ने चलन कम हुँदै गएपछि उत्पादन पनि ह्वात्तै घटेको छ । कोदोको उत्पादन घटेसँगै यसको उपभोग पनि गाउँघरतिर कम हुँदै गएको छ । लमजुङमा उत्पादन भएको कोदोले यहाँको माग नधान्ने कृषि ज्ञान केन्द्र लमजुङको तथ्याङ्कले देखाउँछ । विगतको तुलनामा उत्पादन ह्वात्तै घट्नु, यूवा जनशत्तिको अभाव र लागत बढी लाग्नुपनी यस्को मुख्य कारण हो ।

कृषि प्रधान देश भनेर चिनिएको नेपालमा चामल मात्र होइन रैथाने बाली कोदो पनि आयात हुनु सकरात्मक सन्देश भने होइन् । स्वदेशमा कोदो उत्पादनको प्रशस्त सम्भावना भएपनि प्रत्येक वर्ष आयात बढ्नुले नेपालको लाखौं रुपैयाँ बाहिरीनु हो । 

सरकारले परम्परागत बालीको व्यवसायीकरणमा ध्यान नदिदाँ हरेक वर्ष स्वदेशी उत्पादन घट्दैं गएको छ । सरकारले कोदोको उत्पादन बढाउन कुनै किसिमका कार्यक्रम ल्याएको छैन् । यसको खेती गर्ने किसानलाई सहुलियत दरको ऋणको व्यवस्था पनि छैन् । सरकारले पहाडी बाली जोगाउने र त्यसलाई बढाउने योजना ल्याउनुपर्ने किसानहरुको माग छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update