
काठमाडौं- एसीसी प्रिमियर कपको आफ्नो दोस्रो खेलमा आज (शुक्रबार) ओमानविरुद्ध मैदान उत्रिँदा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । नेपाल घरेलु मैदानमा भएको पछिल्लो नौ खेलमा अपराजित छ । नेपालले एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई हराउनुअघि आईसीसी क्रिकेट विश्वकप लिग–२ को आठ खेलमा जित निकालेको थियो ।
प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो । नेपालले यसअघि प्रतियोगिताको पहिलो खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो । यता, ओमानले भने पहिलो खेलमा कतारलाई ४० रनले पराजित गरेको थियो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजेदेखि सुरु हुनेछ । यसै वर्ष पाकिस्तानमा हुने तालिका रहेको एसिया कपको छनोट प्रतियोगिताको रूपमा रहेको प्रिमियर कपमा कुल १० टिम सहभागी छन् । सहभागी टिमलाई एक समूहमा पाँच टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।