TagaroNews
भलामचौरमा ‘फार्मस्टे’
मर्स्याङदी गाउँपालिका–९ भलामचौर । तस्बिर : तगारोन्युज

लमजुङ - पछिल्लो समय होमस्टे सञ्चालन एक ‘फेसन’ नै बन्दै गइरहेको छ । विना मापदण्ड र पूर्वाधारका होमस्टेहरु खोल्ने प्रतिपर्धा नै छ । तर, लमजुङको भलामचौरमा भने होमस्टेलाई ‘फार्मस्टे’ को रुपमा विकास गरी नमुना एग्रोटुरिजमको रुपमा कृषि र होमस्टेलाइ सँगसँगै अघि बढाएको छ । कतिपय होमस्टेले सामान्य पूर्वाधार र मापदण्डलाई समेत ख्याल नगरेको बेला मर्स्याङदी  गाउँपालिका–९ भलामचौर नमुना बन्दै गएको छ । कृषि र पर्यटनलाई सँगै जोड्ने हिसाबले एग्रोटुरिजमको अवधारणा अघि बढाईएको हो । 

सिते बा ग्रुप अन्तर्गत एसजी हस्पिटालिटी नामक कम्पनीले कृषि तथा होमस्टे प्रवद्र्धनका लागि करिब ४ करोडको लगानीमा ‘भलामचौर मिर्चे नमुना कृषि पर्यटन परियोजना’ नै सञ्चालन गरेको हो । कम्पनीले कृषि तथा पर्यटन प्रवद्र्धनका लागि एक सय रोपनी जग्गा २० वर्षका लागि लिजमा लिएर काम सुरु गरेको कम्पनीका कार्यकारी निर्देशक मधुसुदन पाठक (सिते बा)ले बताए । उनले भने, ‘स्थानीयसँग सम्झौता गरेसँगै होमस्टे व्यवस्थापन र कृषि उत्पादनका काम सुरु भइसकेको छ् ।’ ‘फार्मस्टे’ मार्फत नै अब ग्रामिण पर्यटनमा समृद्धि ल्याउने हाम्रो लक्ष्य छ ।’ उनले थपे ।

कम्पनीले गत वर्ष देखी नै करिब ५० रोपनी जमिनमा ९० वटा टनेल निर्माण गरी २२ थरिका तरकारी उत्पादन समेत सुरु गरिसकेको छ । दीर्घकालीन सोचका साथ एग्रो टुरिजमको विकास र प्रवद्र्धनका लागि लगानी गरेको कम्पनीले अध्ययनका क्रममा भलामचौर प्रकृति, माटो, भूगोल सबै कुराको अनुकूल रहेको जनाएको छ । कृषिले मात्र किसान आत्मनिर्भर नहुने भन्दै कृषिलाई पर्यटनसँग जोडेर परियोजना अघि बढाइएको कम्पनीका उपाध्यक्ष एवं कृषि विज्ञ कृष्ण न्यौपानेले बताए ।  

व्यवसायिक कृषि उत्पादनसँगै स्थानीय ३० घरमा प्रतिघर दुई कोठाका दरले होमस्टे व्यवस्थापन भएको छ । एक रातमा कम्तीमा एक सयजना पाहुना राख्न सकिने तयारी गरिएको छ ।  प्राकृतिक सुन्दरता र गुरुङ सस्कृतिको खानी भलामचौरको प्रवद्र्धन गरी पाहुनालाई स्थानीयस्तरमै उत्पादन भएका खानेकुरा मात्रै खुवाउने प्रवद्र्धकको तयारी छ । 
गाउँमा आएका पाहुनालाई गाउँकै स्वादमा रमाउने गरी पर्यटन व्यवसाय सञ्चालन सुरु गरिएको प्रवद्र्धकहरूले बताएका छन् । कृषि उत्पादन र होमस्टे व्यवसायसँगै स्थानीय १६ जनालाई कम्पनीले रोजगारी दिएको छ । रोजगारी नपाएर गाउँमै बेरोजगार बसेका पनि परियोजना सञ्चालन भएसँगै रोगजार पाएका छन् भने, नयाँ प्रविधिको खेती सिक्न पाउँदा दंग छन् ।

परम्परागत खेती किसानीले मात्रै दीर्घकालीन जीविकोपार्जन सम्भव नहुने देखिएपछि स्थानीय उत्पादनलाई जोडेर पर्यटन व्यवसायमा लागेका स्थानीय अहिले आफ्नो गाउँमा भएको कृषि कायपलटबाट छक्क परेका छन् । भलामचौरमा शुरु भएको व्यवस्थित होमस्टे र नमुना कृषि उत्पादनले स्थानीय मात्रै नभई जिल्लाकै पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने भलामचौर होमस्टेकी अध्यक्ष लुकुमारी गुरुङ बताउँछिन । 

सदरमुकाम बेसीशहरबाट भलामचौर पुग्न १३ किलोमिटर पर्छ । फार्मस्टेले नै अब ग्रामिण पर्यटनमा छलाङ मार्न सकिने भएकाले पनि यसलाई राज्यले समेत जोड्दै लग्नुपर्ने प्रबद्र्धकहरुको भनाई  छ । भलामचौरमा शुरु गरिएको कृषि र पर्यटन जोड्ने अवधाराणालाई अन्य होमस्टे गाउँहरुले पनि सिक्न जरुरी छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update