TagaroNews
अन्नपूर्णमा हराएका आरोही मालुको जीवितै उद्धार

पोखरा- म्याग्दीस्थित अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरमा हराएका एक भारतीय आरोहीको तीन दिनपछि जीवितै उद्धार गरिएको छ ।

भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु बिहीबार बिहान अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरमा भेटिएका हुन् । सोमबारदेखि हराएका मालुलाई प्रभु एयरको हेलिकप्टरले बिहान १०ः३० बजे सात हजार ५०० मिटरको उचाइबाट जीवितै उद्धार गरेको सेभेन समिट ट्रेकका प्रबन्धक थानेश्वर गुरागाईंले जानकारी दिए ।

उनको अवस्था गम्भिर रहेकाले उद्धार पश्चात पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार थालिएको छ । मालु सेभेन समिट ट्रेकमार्फत आरोहणमा गएका थिए । आरोहण सफल नभएपछि आधार शिविर फर्कने क्रममा मालु बेपत्ता भएका थिए । 

अन्नपूर्ण हिमालबाट यसअघि मङ्गलबार भारतीय आरोही २७ वर्षीय बलजीत कौरको पनि जीवितकै उद्धार गरिएको थियो । सोहि अन्नपूर्ण आरोहण गरेर फर्कंने क्रममा कटल्याडका आरोही नोयल हान्नाको भने, मङ्गलबार मृत्यु भएको थियो ।  

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ४ नारच्याङको भूगोलमा अवस्थित छ । 

http://अन्नपूर्ण आरोहणका क्रममा एक भारतीय आरोही बेपत्ता
 

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update