TagaroNews
उपनिर्वाचन: आज राति १२ बजेदेखि प्रचारप्रसार बन्द

काठमाडौँ - निर्वाचन आयोगले वैशाख १० गते हुने उपनिर्वाचनका लागि बिहीबार राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको छ । आयोगले वैशाख ७ गते मध्यरातदेखि वैशाख १० गते मतदान बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको हो  ।

तनहुँ निर्वाचन क्षेत्र नं. १, चितवन निर्वाचन क्षेत्र नं. २ र बारा निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन, २०८० का लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी चैत २४ देखि वैशाख १० गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरेको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था गरिएको छ ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइँदैन । साथै उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएको छ ।

आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित/हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य गर्न हुँदैन ।

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १५:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update