होमस्टेमा आएका पाउनालाई भेडाको उनबाट निर्मित राडीपाखी र बख्खु उपहार दिनु वा बेच्नु लमजुङका गुरुङ बस्तिहरुको प्रचलन नै हो । तर, भेडिगोठहरु मासिँदै जाँदा उन अभाव हुन थालेपछि राडीपाखी र बख्खु व्यवसाय संकटमा परेको छ ।
लमजुङ- केहि अघि लमजुङका प्राय सबै गुरुङ गाउँ बस्तिमा भेडाका उनबाट निर्मित राडीपाखी र बख्खु प्रशस्तै पाइन्थ्यो । गाउँका तन्नेरी देखी बृद्धा आमाहरु घाम ताप्दै राडीपाखी र बख्खु बुन्थे । यो दृश्य देख्दा पर्यटकीय गाउँहरुमा घुम्न आएका बाह्य र आन्तरिक पर्यटकहरु हुरुक्क हुन्थे ।
कतिपय ले त कोसेली स्वरुप राडीपाखी र बख्खु कन्ने गर्थे । तर, पछिल्लो समयमा भेडी गोठहरु मासिन थालेपछि भेडाको उनमा अभाव देखा परेको छ । जस्को सिधा असर राडीपाखी र बख्खुमा परेको छ ।
‘पहिले आफनै घरकै तीन, चारवटा सम्म भेडिगोठ थियो, उन प्रशस्त भएकाले हामी लोकल उनबाटै धेरै राडीपाखी, बख्खु र अन्य सामाग्री बुन्थ्यौँ, अहिले भेडिगोठ सबै मासियो, लोकल उन पाउनै मुस्किल छ, भुजुङकी बृद्धा यकसरी गुरुङले भनीन् ‘अहिले त बजार देखी उन किन्नु पर्छ धेरै ठाउँको मिसिएर आएको उन गतिलो नै हुन्न ।’
पहिले भुजुङ घुम्न पुगेका धेरै पर्यटकले आफुले बुनेका राडीपाखी र बख्खु मन पराएर लगेको उनले अनुभव सुनाइन ।
उन अभावमा सतकुमारी जस्ता धेरैको पेशा संकटमा नै परेको छ । अहिले मुस्किलले केहिले मात्र बजारको उन किनेर बेला बेलामा मात्र राडीपाखी र बख्खु बुन्ने गर्छन् ।
उन अभावमा लमजुङका प्राय सबै गाउँका राडीपाखी र बख्खु बुन्नेहरुको पेशा संकटमा परेको छ । ‘हामीले त जसोतसो राडीपाखी र बख्खु बुन्न सिक्यौँ, अलिअलि जुटाएर फुर्सदाम बुनिराख्छौँ’, लमजुङ पसगाउँकी आस्थरी गुरुङले भनीन् ‘आजकलका नयाँ पुस्ताका नानीहरुमा त यो बारे जानकारी नै छैन् वास्ता पनि गर्दैनन् ।’
लमजुङमा हालको तथ्यांक हेर्दा भेडाको संख्या १३ हजार बढी छ । बार्षिक साढे आठ हजार केजि उन उत्पादन हुने गरेको छ । भेडाको संख्या र उन उत्पादन प्रत्येक वर्ष घट्दो क्रममा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख रुपेश श्रेष्ठले बताए ।
उनका अनुसार केहि भेडिगोठालेहरुले अझै दुख त गरिरहेका छन् तर, दुख अनुसारको आम्दानी भने छैन् । उनले भने, ‘घले लगाएतका जातीहरुको विभिन्न परम्परागत कार्यमा भेडा अतिआवश्यक पर्ने भएकाले पनि अलि अलि भेडा पाल्नेहरुले पालिरहेका छन् नत्र भेडाहरु मासिने अवस्था आइसक्यो ।’
स्थानीयले राडी र बक्खु प्रतिगोटा ५ हजार देखि १२ हजार रुपैँया सम्म बिक्री गर्दै आएका छन । तर, उन कै अभाव र सीप हस्तान्तरण नहुँदा यो पेशाबाट टाडिनुपर्ने बाध्यता एकातिर छ भने, अर्कोतिर स्थानीय तहले चासो नदिदाँ व्यवसाय नै संकटमा परेको छ । जस्ले गर्दा पुख्र्यौली व्यवसाय नै गुम्ने पो होकि भन्ने खतरा बढेको छ ।