TagaroNews
राष्ट्रपति पौडेलको एम्सको भीआईपी आईसीयूमा राखेर उपचार 
अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)

नयाँ दिल्ली — राष्ट्रपति रामचन्द्र पौडेलको भारतको राजधानी नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचार सुरु भएको छ । राष्ट्रपति पौडेललाई एम्सको भीआईपी आईसीयूमा राखेर उपचार सुरु गरिएको हो ।

राष्ट्रपति पौडेललाई बुधबार बिहान नयाँ दिल्लीस्थित विमानस्थलमा अवतरण गरेलगत्तै भारतका लागि नेपाली राजदूत शंकर शर्मा र भारतीय विदेश मन्त्रालयको नर्थ डिभिजन प्रमुख अनुराग श्रीवास्तवले रिसिभ गरेका थिए । उनलाई उच्च सुरक्षासहित एम्स पु¥याइएको थियो ।

पौडेलको उपचारमा हाल एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्रा.डा. अनन्त मोहन र आईसीयू विज्ञ डा. पुनीत मिश्रको टोली संलग्न रहेको राष्ट्रपति पौडेलका छोरा चिन्तन पौडेलले जानकारी दिए । उनका अनुसार चिकित्सकहरूले राष्ट्रपतिको नेपालमा गरिएका लगभग सबै परीक्षणहरु पुनः दोहो¥याउनुका साथै केही थप परीक्षण पनि गरिने जानकारी दिएका छन् ।

स्वास्थ्यमा सुधार नभएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्सबाट बुधबार बिहान भारत लगिएको हो । छातीमा संक्रमण देखिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा छातीमा जमेको पानी निकालेर परीक्षण गर्दा संक्रमणबाहेक अन्य अवस्था सामान्य देखिएको भएपनि मंगलबार भने रिंगटा लागेर बेहोस जस्तै भएपछि पुनः अस्पताल भर्ना गरेर चिकित्सकको निगरानीमा राखिएको थियो ।

लामो समयसम्म एन्टिबायोटिक्स सेवन गर्दा पनि निको नभएर थप जटिल बन्दै गएपछि परिवार र चिकित्सकहरुको सल्लाहमा पौडेललाई उपचारका लागी भारत लगिएको हो ।
 

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update