TagaroNews
लमजुङका स्थानीय तहको बेरुजु : सबैभन्दा धेरै राइनास कम मर्स्याङ्दी  

लमजुङ- लमजुङका स्थानीय तहमा विनियोजन भएको रकममध्ये गत आवमा २२ करोड ५ लाख ५७ हजार रुपैयाँ बेरुजु देखिएको छ । महालेखा परीक्षकको ६० औं वार्षीक प्रतिवेदनले जिल्लाका आठ  स्थानीय तहमध्ये सवैन्दा बढी राइनास नगरपालिका र सबैभन्दा कम मर्स्याङ्दी गाउँपालिकामा बेरुजु देखिएको हो । 

प्रतिवेदन अनुसार प्रतिशतको आधारमा हेर्दा राइनास नगरपालिकामा ४ दशमलव  ११ प्रतिशत बेरुजु रहेको छ । १ अर्ब ३९ करोड ३८ लाख २३ हजार रुपैयाँको लेखा परीक्षण भएको ५ करोड ७३ लाख ३१ हजार रुपैयाँ बेरुजु देखिएको हो । मर्स्याङ्दीमा १ अर्ब ३ करोड ९२ लाख ६८ हजार रुपैयाँको लेखा परीक्षण भएकोमा ७५ लाख ३१ हजार रुपैयाँ बेरुजु देखिएको छ । प्रतिशतको आधारमा ० दशमलव ७२ प्रतिशत बेरुजु देखिएको छ । 

क्व्होलासोंथार गाउँपालिकामा ७१ करोड ७४ लाख २३ हजार रुपैयाँको लेखा परीक्षण गरिएकोमा ३ दशमलव ६ प्रतिशत अर्थात २ करोड १९ लाख ४७ हजार रुपैयाँ बेरुजु देखिएको छ । दोर्दी गाउँपालिकामा १ अर्ब २० करोड २३ लाख ९५ हजार बजेटको लेखा परीक्षण गरिएकोमा ३ दशमलव ४१ प्रतिशत अर्थात ४ करोड ९ लाख ९५ हजार रुपैयाँ बेरुजु देखिएको छ । दूधपोखरी गाउँपालिकामा ७८ करोड २ लाख ९९ हजार रुपैयाँ बजेटको लेखा परीक्षण गरिएकोमा २ दशमलव ३३ प्रतिशत अर्थात १ करोड ८१ लाख ५४ हजार रुपैयाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार मध्यनेपाल नगरपालिकामा १ अर्ब ४५ करोड ५ लाख १२ हजार रुपैयाँ बजेटको लेखा परीक्षण गरिएकोमा २ दशमलव ०४ प्रतिशत अर्थात २ करोड ९५ लाख ४५ हजार रुपैयाँ बेरुजु देखिएको छ । सुन्दरबजार नगरपालिकामा १ अर्ब ५१ करोड ४१ लाख ३ हजार रुपैयाँको लेखा परीक्षण गरिएकोमा २ करोड ८० लाख ५७ हजार रुपैयाँ अर्थात १ दशमलब ८५ प्रतिशत बेरुजु देखिएको छ ।

बेसीशहर नगरपालिकामा १ अर्ब ५४ करोड ३४ लाख ६० हजार रुपैयाँ बजेटको लेखा परीक्षण गरिएकोमा १ करोड ६९ लाख ९७ हजार रुपैयाँ अर्थात १ दशमलव १ प्रतिशत बेरुजु देखिएको छ । आर्थिक वर्ष २०७७/७८ मा २१ करोड ६५ लाख १३ हजार रुपैयाँ बेरुजु दखिएको थियो । 

महालेखा परीक्षकको ६० औं वार्षीक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/७९ मा लमजुङका ८ वटा स्थानीय तहमा कार्यान्वयनमा रहेको ९ अर्व ६४ करोड १२ लाख ८३ हजार रुपैयाँ बजेटको लेखा परीक्षण गर्दा २ दशमलव २८ प्रतिशत बेरुजु देखिएको हो । संघीय सरकार अनुदान, प्रदेश सरकार अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आय र अन्य आय गरी ६ शीर्षकको बजेटको लेखा परीक्षण गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update