TagaroNews
विश्व विख्यात चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटकको लर्को 
फाइल तस्बिर ।

लमजुङ– विश्व विख्यात चक्रीय अन्नपूर्ण पदमार्गमा यतिबेला विदेश पर्यटकको लर्को लाग्न थालेको छ । दैनिक जसो विदेशी पर्यटक एक सयदेखि एकसय ५० जनासम्म आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ । 

केही हप्ताअघिसम्म यस पदमार्गमा न्यून रहेको पर्यटक अहिले भने बढ्दै गएको हो । एक्याप धारापानी चेकजाँच केन्द्रकाका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार केही हप्ता अघिसम्म दैनिक ४०–५० जना पर्यटक आउने गरेकामा सो संख्या बढ्दै एक सय ५० जनासम्म दैनिक रुपमा आउने थालेका छन् ।

यस याममा विगतका वर्षमा दैनिक पाँच सयजनासम्म पनि आउने गरेका थिए, तर त्यति पर्यटक नआए पनि केही हप्ताअघिको तुलनामा पर्यटक वृद्धि भइरहेको उनको भनाइ छ । पर्यटक संख्या अझै बढ्दै जाने अपेक्षा पर्यटन व्यवसायीहरूले गरेका छन् । 

पर्यटक कम आउँदा सुस्ताएको पदमार्गका होटल व्यवसायको यतिबेला दैनिक आम्दानी बढ्न थालेको छ । एक्यापका अनुसार पदमार्गमा आउने पर्यटकमध्ये फ्रान्स, जर्मन लगायतका देशका नागरिक बढी छन् ।

लमजुङ सदरमुकाम बेसीशहर अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारका रूपमा चिनिन्छ । बेसीशहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत तथा मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङ पास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदयात्रा मार्गको यात्रा पूरा हुन्छ ।

पदयात्राका सौखिनका लागि जीवनको प्रतिष्ठासमेत बन्ने गरेको पाँच हजार चार सय १६ मिटरको थोराङ भञ्ज्याङलाई पार गर्दा आन्तरिक तथा बाह्य पर्यटक आफूलाई भाग्यमानी ठान्छन् । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update